
विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमा फैलिएको भन्दै भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका उपायहरुलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।
आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ ।आइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका साथ स्वास्थ्य सुरक्षाका विषयमा कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले नगर भित्र थप कडाइका कार्यक्रम सार्वजनिक गरेको हो ।
सीमा क्षेत्रबाट लुकीछिपी हुने आगमनलाई रोक्ने, सिटी रिक्सामा दुरी कायम गर्नुपर्ने ,चोक बजारमा भिडभाड गरेर लाग्ने पसल ब्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनु पर्ने ,सामाजिक दुरी कायम राख्नुपर्ने, भिडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने ,परिक्षणको दायरा बढाउन थप पहल गर्ने ,क्वारेन्टाइन थप बढाउने, आइसोलेसनलाई थप ब्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने, आपतकालिन स्वास्थ्य सुरक्षामा थप ध्यान दिनका साथै कुनैपनि खालका सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा महानगरपालिकाले विषम परिस्थितिमा अत्याबस्यक काम बाहेक बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने पनि मेयर पराजुलीले बताए ।
१९ जना प्रहरीमा कोरोना संक्रमण
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
आइतबार मात्रै प्रदेश १ मा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार संक्रमण देखिएका मध्ये विराटनगरका मात्र २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्राललयले जनाएको छ । आइतबार इलाममा ९ जनालाई संक्रमण देखिएको छ । आइतबारसम्म ३१ नयाँ थपिएसँग प्रदेश १ मा संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।