विश्वभर कोरोना संक्रमित भएका व्यक्तिमध्ये लगभग १ करोड मानिसहरुले कोरोनालाई जितेर घर फर्किएका छन् ।
नेपाली समयअनुसार सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभ ९९ लाख १३ हजार २ सय ३२ जना संक्रमितहरु निको भइसकेका छन् ।
यो समाचार तयार पार्दासम्म कोरोनाबाट संक्रमण हुनेको संख्या १ करोड ६२ लाख २ हजार ३ सय ८५ पुगेको छ भने ६ लाख ४८ हजार ४ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् ।
अहिले ५६ लाख ४० हजार ७ सय ८ केसहरु एक्टिभ रहेका छन् जसध्ये १ प्रतिशत अर्थात ६६ हजार २ सय ३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
तथ्यांकलाई विश्लेषण गरेर हेर्दा कोरोना संक्रमितमध्ये ६ प्रतिशतको ज्यान गएको छ भने ९४ प्रतिशत निको भएका छन् । ज्यान गुमाउनेहरु पनि बढी मात्रामा दीर्घरोगी र उमेर बढी भएका व्यक्तिहरु रहेको बताइएको छ ।
कोरोनाले सबैभन्दा बढी आक्रान्त भएको अमेरिकामा ४३ लाख १५ हजार ७ सय ९ जना संक्रमित हुँदा १ लाख ४९ हजार ३ सय ९८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा २३ लाख ९६ हजार ४ सय ३४ जना संक्रमित हुँदा ८६ हजार ४ सय ९६ जनाको ज्यान गइसकेको छ ।
संक्रमितको संख्यामा तेस्रो स्थानमा रहेको भारतमा १३ लाख ८५ हजार ४ सय ९४ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ ४८ हजार ४ सय ७२ जना संक्रमित फेला परेका छन् जुन अमेरिकामा फेला परेका ६७ हजार ४ सय १३ जनापछि दोस्रो स्थान हो ।