
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमितमध्ये ६१ प्रतिशत भन्दा बढी निको भएका छन् ।
नेपाली समयअनुसार शनिबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका १ करोड ५९ लाख ४० हजार ७ सय ३४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ९७ लाख २३ हजार ९ सय ४९ जना भने उपचारपछि निको भएका छन् । तथ्यांकलाई विश्लेषण गर्दा निको हुनेको संख्या ६१ प्रतिशत भन्दा माथि पुगेको हो ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा १ लाख ४८ हजार ४ सय ९० जनाको मृत्यु भएको छ भने ४२ लाख ४८ हजार ३ सय २७ जना संक्रमित फेला परेका छन् ।
अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ८५ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ४८ हजार २ सय जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । अरु देशमा आगोझै फैलिरहंदा चिनमा भने कोरोना संक्रमण धेरै नै कम छ । पछिल्लो २४ घन्टामा जम्मा २१ जना संक्रमित फेला परेका छन् ।
संक्रमितको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको भारतमा १३ लाख ३७ हजार २२ जना कोरोना संक्रमित फेला पर्दा ३१ हजार ४ सय ६ जनाले ज्यान गुमाउनु परेको छ ।
विश्वका २१३ मुलुकमा कोरोना फैलिएको छ । नेपालमा १८ हजार ३७४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ४५ जनाको मृत्यु भइसकेको छ ।