
पर्सामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्।
समुदायस्तरमै कोरोना फैलिएको आशंकापछि वीरगञ्जमा आज बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।
हिजैमात्रै सो जिल्लामा २ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ भने कोरोना नियन्त्रण बाहिर गइसकेको अनुमान समेत गर्न थालिएको छ ।
कुनै ट्राभल हिस्ट्री नरहेका तथा कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनमा रहेका र स्वेच्छाले जाँच गराएकाहरूमा संक्रमण देखिएको हो। पर्सामा अहिलेसम्म ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
सरकारले लकडाउनका अधिकांश प्रावधान हटाएसँगै केही दिन अघिदेखि पर्साका बजार खुलेका थिए। भीडभाड बढेको र आवश्यक स्वास्थ्य सजगता नअपनाएकाले संक्रमण समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन्।