
वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा ज्यान गुमाएकी युवतीमा कोरोना पुष्टी भएको छ ।
गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत बाराको परवानीपुर गाउँपालिका ४ की १७ वर्षीया युवतीको शुक्रबार मृत्यु भएको हो । उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पताल स्रोत बताउँछ ।
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।
गत बुधबार स्वास्थ्यमा समस्या आएपछि युवतीलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोनाको शंका लागेपछि चिकित्सकले युवतीको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो। मृतक युवतीको पीसीआर नतिजा पोजेटिभ आएपछि श-व अस्पतालकै आइसोलेसनमा राखिएको छ । शनिबार नेपाली सेनाले श-व व्यवस्थापन गर्ने बताइएको छ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
एकैदिन कोरोनाबाट २ जनाको निधन
शुक्रबार एकैदिन वीरगञ्जस्थित गण्डक अस्पतालमा २ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
आज बिहान पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाकी ८५ वर्षीया वृद्धाको ज्यान गएको थियो भने साँझ १७ वर्षिया युवतीको ज्यान गएको हो ।
समुदायमा संक्रमित फैलिएको र उपचार गराइरहेका व्यक्तिहरुको ज्यान जान थालेपछि भोलीदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।