
कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ। कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो।
सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउँछन्।
“बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ”, उनले भने।