
भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।
राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताउनुभयो । यससहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
नारायणीमा बेपत्ता
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो ।
सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा उनी चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ । यसअघि यही साउन ६ गते पनि सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई दाउरा छोप्ने क्रममा नदीले बगाएको थियो । उनी पनि अझै फेला परेका छैनन् ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनी जनधनको क्षति हुने गरेको छ ।