
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका नेपाली सेनाले नियन्त्रणमा लिई पिटेका एक युवकको मृत्यु भएको प्रकरणमा नेपाली सेनाले आन्तरिक छानबिन शुरु गरेको जानकारी दिएको छ ।
चितवनको निकुञ्जको घटना मिडियाआमा सार्बजनिक भएपछि नेपाली सेनाले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाउदै यस विषयमा आफ्नो आन्तरिक छानबिन शुरु गरेको जनाएको छ ।
नेपाली सेनाले भनेको छ ( ुयस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरि रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने बारे जानकारी गराउदछौं । नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ ।ु
पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको बुधबार मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन्।
राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो ।
राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताएका छन् । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो। ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए ।
निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा सैनिकले उनीहरूलाई समातेको थियो ।