
चितवन । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा। हरिप्रसाद कँडेलले एसियन लिडरशिप अवार्ड प्राप्त गरेका छन् । ५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिइने यो पुरस्कारको विजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा। कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै अवार्डका लागि छनोट गरिएको हो ।
सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ । दुवईमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा। कँडेललाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेको थियो ।
डा। कँडेललाई गतवर्ष पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो । त्यसैगरी डा। कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ ।
पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा। कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् ।