
पछिल्ला दिनहरुमा लगातार भइरहेको भारी वर्षाका कारण देशभर बाढीपहिरो भयावह भएको छ ।
तराईमा डुबान पनि एक गम्भीर समस्याको रुपमा देखा परेको छ । यो बीचमा धादिङको गजुरी गाँउपालिका ५ घाँटबेसीमा पहिरोसँगै आएको भेलमा एक घर बगेको थियो । पहिरोमा बगेको एक कारबाट एक लाख ५० हजार रुपैयाँ तथा एउटा ल्यापटप फेला परेको खुल्न आएको छ ।
उद्धारका क्रममा सशस्त्र प्रहरी टोलीले उक्त कारबाट सामान र नगद निकाली सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आदमघाटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशप्रसाद रिजालको कमाण्डमा खटिएको एपीएफ टोलीले भेलमा बगेको सो कारबाट उल्लेखित रकम तथा ल्यापटप सुरक्षित रुपमा निकालेको हो । समाचारमा बताइए अनुसार उक्त कारमा सवार व्यक्तिहरु कारबाट बाहिर निस्कन सफल भएका थिए भने उक्त कार भेलले त्रिशुली नदीको किनारमा खसालेको थियो ।