
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट बताउँछन् ।
लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेका लगायतका स्थानका १० घरपरिवार पहिराका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।
पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिराले विस्थापित भएका छन् ।
निरन्तरको वर्षापछि आएको पहिराले गाउँपालिकाभित्रका छ वटा विद्यालयमा समेत क्षति पुगेको छ । पहिराका कारण वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्वति माध्यामिक विद्यालय र मनासलु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुगेको हो ।
त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिराले क्षति पुर्याएको छ ।