
सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहिबार जेलमुक्त भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादले भने ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । उच्च अदालत पाटनले पनि २३ मंसिर २०७२ मा कोइरालाको सर्वस्वसहितको फैसलालाई सदर गरेको थियो । तर, सर्वोच्चले उनको कैद सजाय घटाएको हो ।
श्रीमती ह त्या आरोपमा उनी ८ माघ २०६८ मा पक्राउ परेका थिए ।
यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।
साथै, श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएको भन्दै सजाय घटाइएको थियो ।
नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाए ।
शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ २०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट २०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।
कर्तव्य ज्यान मुद्दाका दोषीलाई जन्मकैदको समय घटाएपछि सर्वोच्चको उक्त निर्णयको धेरैले विरोध गरेका छन् ।