
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा आगजनी भएको छ । अज्ञात समुहले गएराती जुडा कालापानी स्थित रहेको ७ नम्बर वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीबाट कार्यालयका आवश्यक सम्पूर्ण कागजात, इलेक्ट्रोनिक समान लगायतका समाग्री नष्ट भएका छन् ।
बिहीबार बिहान स्थानीयले ध्वाँ देखेपछि वडा कार्यालयमा आगो लागेको बारे प्रहरीलाई खबर गरेका थिए । गत बर्ष मात्रै भवन निर्माण गरिएको थियो ।
वडा कार्यालयमा बुधबारदेखि अघिका सबै कागजात नष्ट भएको वडा सचिब महेश भट्टले बताए । गत बर्ष पनि अज्ञात समुहले वडाध्यक्ष सिहको घरको पार्किङमा राखेको कारमा आगजनी गरेका थिए । एक बर्ष नवित्दै वडा कार्यालयमा आगजनी भएपछि स्थानीयले दोषीलाई कानुनी दायरामा नआउँदा कहिले सवारी साधन, कहिले वडा कार्यालयमा आगजनी गरिएको बताएका छन् ।
वडाध्यक्ष जगतबहादुर सिहले कार्यालयमा आगजनी गर्नु जघन्य अपराध भएको बताउदै अनुसन्धानको गर्नु पर्ने बताए । गाडीमा आगजनी कसले, किन के कारणबाट लगाएको हो, भन्ने बारेमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । तर, गाडीमा आगजनी गरिएको बारे कसैले पनि जिम्मा लिएको छैन् । झलारी प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी र घटनाको सुष्म अनुसन्धान भइरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मेन्द्र रावलेले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नको खोजिकार्य गरेर कानुनी दायमा ल्याईने उनले बताए ।