
नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पताल प्रशासनका अनुसार शुक्रबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको आज बिहान मृत्यु भएको हो ।
पोखरामा बस्दै आएकी आएकी ती चिनिया महिलालाई स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।
अस्पताल प्रशासनमा कार्यरत माधव प्रसाद घिमिरेका अनुसार मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ४१ जनाको मृत्यु भएको छ । आज त्रिवि अस्पतालमा मृत्यु भएका चिनियाँ नागरिक भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने पहिलो विदेशी नागरिक भएकी छिन् ।