
काठमाडौं । अविरल वर्षाका कारण मध्य भोटेकोसी जलविद्युत् आयोजनामा बाढी पस्दा डेढ अर्बबराबरको क्षति पुगेको छ । यस्तै विभिन्न ठाउँका पुल भत्किँदा आयोजनाको काम अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादनमा कठिनाइ भएको बताए । “सञ्चालनमा रहेका आयोजनामा बाढी आउँदा बन्द गर्नुपर्ने अवस्था भएका आयोजना समय(समय बन्द गर्नुपरेको छ । समग्रमा करिब दुई सय मेगावाट विद्युत् उत्पादन निरन्तर हुन सकेको छैन्,” उनले भने ।
पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा प्राधिकरणलाई घाटा लागेको उनले बताए । बाढी पसेर मेडियन डुबाउँदा मध्य भोटेकोसी आयोजनामा करिब डेढ अर्ब रुपैयाँको नोक्सानी भएको उनले बताए । यस्तै मुस्ताङ जाने सडक खण्डमा पर्ने एउटा पुल बगाउँदा राहुघाट आयोजनाको काम अवरुद्ध भएको उनले जानकारी दिए ।
सञ्चालनमा रहेको विद्युत् आयोजनामा सीधैं बाढीले असर नपारे पनि ठाउँ ठाउँमा बिजुलीको पोल ढालेको, निर्माणाधीन प्रसारण लाइनमा क्षति पुर्याएको उनले बताए । “बन्दै गरेको प्रणारण लाइनको टावर पहिरो ढलेको छ तर चार्जिङ भएका प्रसारण लाइनमा भने क्षति पुर्याएको छैन्,” उनले भने ।