
प्रधानमन्त्री वा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति विनै बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान ११ बजेको लागि तय भएको बैठक २ घण्टा स्थगित गरी केही समगअगाडी सुरू भएको थियो तर बाढी-पहिरो पीडितको उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको त्यहाँ सहभागी एक नेताले केटीएम दैनिकलाई बताए ।
बैठक सुरू भएता पनि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका थिएनन् ।
नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ। यो विवाद स्थायी कमिटीले टुंगो लगाउने भन्दै बैठक बस्ने भनिएतापनि लामो समयदेखि बैठक कुनै ठोस निर्णयबिना सकिने गरेको छ भने धेरैचोटी बैठक स्थगित समेत गरिएको छ ।
देश कोरोनाले आक्रान्त भएको बेला नेताहरुले पनि शक्ति र कुर्सीको हानथापमै व्यस्त हुन थालेपछि आम जनतामा राजनैतिक नेतृत्वप्रति निराशा बढ्दै गइरहेको छ ।