
पोखरा–खैरेनी आवतजावत हुने तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
गत आइतबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तगर्त तनहुँको बन्दीपुर-१ नाहालामा पक्की सडक भत्किदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको १० मिटर सडक भासिएको बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
सडक भासिएसँगै कुनै पनि सवारी सधान चलेको छैन ।
हाल उक्त स्थानमा अर्को नयाँ ट्रयाक खोलेर बाटो सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत उनले बताए । यद्यपी पहिरोले कुनै क्षति भने भएको छैन ।
त्यस्तै तनहुँको बन्दीपुर-५ बिमलनगर, म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।
‘सडक भासिएको रैछ, मा पनि यहीं छु ।’ प्रजिअ अधिकारीले भने ‘अस्थायी मर्मतको कार्य हुँदैछ ।’ उनले थपे नाहालाको यो समस्या १ घण्टा भित्र समाधान हुन्छ ।
राजमार्ग अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँको पहिरोका कारण ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् ।