
हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयपछि जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले भने यो हतारको निर्णय भएको संज्ञा दिएका छन् । उनले होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्ने बताएका हुन् ।
अन्तराष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पाण्डेले उक्त कुरा बताएका हुन् । उनी अगाडी लेख्छन् ।
सरकारले हवाइ उडानलाई यसरी निर्णय गर्नु पर्थ्यो
१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने ।
२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्ने ।
३. कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने ।
यो महामारी र सम्भावित सेकेन्ड वेभ ( कार्तिक / मङ्सिरदेखि सुरु हुनसक्ने ) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ ।
चाडपर्वको लागि २-३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ ।
उहाँहरुलाई राख्ने होल्डिंग सेन्टर / क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ ।
हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् ।
अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म बिकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् । न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं ।
नेपाली कामदार, बिद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ ।