
नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सन १९७९ देखि अहिलेसम्मको रेकर्डअनुसार नारायणी नदीमा सोमबार आएको बाढी अहिलेसम्मकै ठूलो हो।
सन २०१३ मा नारायणी नदीको जल सतह ९.१५ मीटर पुगेको थियो। त्यसअघि सन १९७९ मा ९.४ र १९८९ मा नारायणीको जल सतह ९.२ मीटर मापन गरिएको थियो।
तर, नारायणी नदीको देवघाटमा रहेको स्वचालित जल मापन यन्त्रले नारायणी नदीको जलसतह ९.७८ पुगेको देखाएको छ। यो खतराको तहभन्दा १.७८ मीटर बढी हो।
चार जनाको मृत्यु
गएरातिदेखि भएको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक जानकारी अनुसार सोमबार साँझसम्म देशभर भएका घटनामा चार जनाको मृत्यु भएको छ।
अहिलेसम्मको जानकारी अनुसार दुई जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन्। दार्चुलामा दुई, काठमाडौंमा र गोर्खामा एक/एक गरी चार जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। ‘बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण विभिन्न जिल्लाबाट आउने क्रम जारी छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने।
बाढी तथा पहिरोले सबैभन्दा बढी पृथ्वी राजमार्ग प्रभावित भएको छ। प्राधिकरणका अनुसार पृथ्वी राजमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण सयौं गाडी बीच बाटोमै फसेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिलेसम्मको जानकारी अनुसार मुग्लिनदेखि बैरेनीसम्म १२ ठाउँभन्दा बढी स्थानमा पहिरो गएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मौवा खोलाले पुल नै बगाएको छ। खोलाले बगाएको भागलाई मर्मत गरेर सवारी आवागमन सुचारुका लागि तयारी भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए।
त्यसैगरी मलेखु, गल्छी, फुर्केखोला, गालौंदी र महेशखोलामा पहिरोले राजमार्ग अवरुद्ध भएको छ। केही स्थानमा गन्तव्यमा जान हिंडेका सवारी साधनहरू पुरिएका छन्।
त्यसैगरी मदन भण्डारी राजमार्ग अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डको चारकिलो भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ। निरन्तरको वर्षाका कारण पहिरो हटाउन समस्या परिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।