
प्रदेश नम्बर दुईमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको एउटै क्वारेन्टाइनका ४६ जनासहित पर्सा र बारामा थप ५० जना कोरोना संक्रमित थपिएका हुन् ।
नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणमा दुवै जिल्ला गरि थप ५० जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।
उनीहरुमा गएराति पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताउनुभयो । बाराको देवताल गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पर्साको वीरगञ्ज स्थित होटेल कुमु प्यालेसको क्वारेन्टाइनमा बस्दै आएका चार जनामा समेत कोरोना संक्रमण देखिएको हो । बारामा देखिएका संक्रमित मध्ये १० जना महिलाहरु रहेका छन्।