नेपालमा आइतबार (आज) सम्म ८ जिल्ला कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामध्ये ८ जिल्लामा अहिले कुनै पनि संक्रमित छैनन् । पुराना संक्रमित सबै निको भएर घर फर्किसकेका छन् ।
संक्रमित शुन्य रहेका जिल्लाहरु भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला हुन् ।
आइतबार १ सय ५६ जनामा कोरोना संक्रमण
आइतबार नेपालमा १ सय ५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामा परीक्षण गर्दा १ सय ५६ जनामा सङ्क्रमण देखिएको बताए ।
आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ५८ पुगेको छ । नयाँ देखिएका सङ्क्रमितमा सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०-१० जना, पर्सा, कास्की, म्याग्दी र लमजुङ ६÷६ जना, बाँके र दाङमा ५-५ जना रहेका छन् । यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा २-२ जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा १-१ जना सङ्क्रमित फेला परेका हुन् ।