
सरकारले कोरोना महामारीका कारण बन्द गरिएका केही क्षेत्रलाई थप खुकुलो बनाउँदै खुल्ला गर्ने तयारी गरेको छ । सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा साउन ६ गतेपछि केही क्षेत्रलाई खुल्ला गर्ने विषयमा छलफल भएको हो ।
केही क्षेत्र खुल्ला गर्नका लागि प्रस्ताव आएको र त्यसबारेमा विस्तृत छलफल गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिएका छन् । यसका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने र आवश्यक निर्णय लिइने उनले बताए । कोरोना महामारीपछि हवाइक्षेत्र, सिनेमा हल, विद्यालय, क्याम्पस, लामो दुरीका यातायात, धार्मिक क्षेत्र लगायत अझै बन्द छ । सरकारले चैत ११ गतेदेखि जारी लकडाउन साउन ७ सम्म कायमै राखेको छ ।
केही क्षेत्रमा भने लकडाउन खुकुलो बनाइसकिएको छ । यातायात पनि छोटो दुरीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ । बैठकले विभिन्न देशमा रहेका श्रमिकहरूलाई नेपाल ल्याउने क्रमलाई जारी राख्ने निर्णय पनि गरेको छ । समितिले कोरोना नियन्त्रणका लागि भएका कामहरू प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
त्यस्तै विश्वभर कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि भएका प्रयासलाई जारी राख्ने निर्णय समितिले गरेको हो ।