पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना र भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
आज (शुक्रबार) नेपालमा कोरोना पुष्टि भएका १०१ जनामध्ये काठमाडौं उपत्यकाका ३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । आज २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको नमूना परीक्षण भएको उनले जनाकारी दिएका छन् ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजमात्रै कोरोना निको भएर थप २८५ जना डिस्चार्ज भएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ ।