काठमाडौँ। सरकारले नेकपाका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरेपछि उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको छ ।
कोरोना भाइरस र बाढीपहिरोले निम्त्याएका समस्याहरू समाधानका लागि उदार तथा रचनात्मक कार्यक्रममा जुटिरहेको बेला सरकारले आफ्नो पार्टीका नेता–काकार्यकर्ताहरूलाई कृत्रिम मुद्दा बनाएर अराजनीतिक, अमानवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गिरफ्तार गरेको भन्दै नेकपाले सङ्घर्ष घोषणा गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरोका इन्चार्ज ओम प्रकाश पुन तथा महिला नेत्री पूर्णिमा धामीलाई बुधबार अपमानजनक ढङ्गबाट झूट्टा मुद्दा भिराएर हिरासतमा राखेको भन्दै ३ साताको समयमा मात्र सेती–महाकालीका विभिन्न जिल्लाहरूबाट एक दर्जन नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरिएकाले नेकपाले सङ्घर्ष घोषणा गरेको हो ।
सेती–महाकालीमा केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओलीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई विभिन्न जिल्लाका हिरासत तथा कारागारहरूमा बन्दी बनाएको भन्दै सङ्घर्ष घोषणा गर्नुपरेको नेकपाले जनाएको छ ।
नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।नेकपाको सेती–महाकाली ब्युरो कार्यालयको विज्ञप्तिमा आफ्नो पार्टीले नचाहँदानचाहँदै पनि सरकारी रबैयाका कारण सङ्घर्ष घोषणा गर्नुपरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक जनता, उद्योगी–व्यवसायीहरूले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आक्रोशबाट अन्धो बनेको वली सरकार पतन उन्मुख दलाल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि दमनमा उत्रिएको छ जुन फासिवादी हर्कतका अगाडि झुक्नुको साटो लुटेरा, दलाल सरकारलाई मुहतोड जबाफ फर्काइनेछ ।’
बन्दको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत नेकपाले अपिल समेत गरेको छ ।
‘अतः आमनागरिकहरू महामारीले उब्जाएको पीडामा उकुसमुकुस भैरहेको अवस्थामा नचाहँदानचाहँदै पनि फासिवादी सरकारको दमन, धरपकड तथा गिरफ्तारी, झूट्टा मुद्दा र राजनीतिक गतिविधिमाथिको प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्न सेती–महाकाली ब्युरोमा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
संचारकेन्द्रको सहयोगमा