सम्माननीय प्रधानमन्त्री, शिक्षामन्त्री एवंम उच्चस्तरमा रहनुभएका सम्पूर्ण व्यक्तित्वहरुलाई हजुरहरुले नै दुर्गम ठान्नुभएको कर्णाली प्रदेशको जुम्ला जिल्लाबाट म पोखरा विश्वविद्यालय अन्तर्गत एभरेष्ट ईन्जिनियरिङ्ग कलेज सानेपा ललितपुरमा सिभिल इन्जिनियरिङ्ग अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी बाल गोपाल देवकोटा दुवै हातका दश औंला जोडेर नमस्कार अनि हार्दिक नमन ब्यक्त गर्दछु।
विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल पनि कोरोनाबाट अछुत हुन सकेन। न त सगरमाथाले नै रोक्न सक्यो न त स्वयम्भु, पशुपतिनाथले नै ढिलै भएपनि नेपालमा कोरोनाको आगो दिन दुई गुणा रात चौ गुणा जसरी फैलँदै गयो । नेपालमा कोरोना भाइरस पुष्टि भए पछि चैत ११ गतेबाट लागू भएको लकडाउन आंशिक रुपमा खुलेपनि करिब चार महिना पुग्नलाग्दा पनि जारी नै भएको हजुरहरुलाई अवगत नै छ। लकडाउन केही सामान्य भएदेखि कलकारखाना, संघसंस्था, यातायात, बजारहरु जस्ता विभिन्न क्षेत्रहरु खुलिसकेका छन् तर विश्वविद्यालय र बिद्यालयहरु भने खुल्न सकेका छैनन् । मुलुकका धेरैजसो विद्यालयहरु क्वारेन्टिन बनाइएका छन् ।
यतिबेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामाना गर्नु परिरहेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। अन्य मुलुकमा वैकल्पिक माध्यमहरुबाट पठनपाठन सुचारु भए।विश्वका धेरै देशहरूले पनि यो कठिन समयमा आफ्ना विद्यार्थीहरुसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नका लागी भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन गराइरहेका छन्। किनकी विकसित चेत भएका प्रायः सबै देशहरूले जस्तोसुकै अप्ठ्यारोमा पनि शिक्षाको नियमिततालाई अत्यन्तै महत्त्व दिएका छन। तर नेपालमा त्यो भने सम्भव भएको देखिँदैन।
विद्यालय कलेजहरु बन्द भएका कारण कतिपय विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको शिकार हुनु परिरहेको तथ्य पनि हजुरलाई थाहा नै छ होला। सबै विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु रोकिएका छन्। जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविषय के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन् त्यस अन्तर्गतको एक प्रतिनिधि पात्र म पनि हो ।
यस्तो बेलामा विद्यार्थीहरुलाइ कसरी शैक्षिक क्रियाकलापहरुमा व्यस्त बनाइराख्ने भन्ने सन्दर्भमा विशेष ध्यान दिनु पर्ने हो तर विश्वविद्यालय र हाम्रा कलेजहरुले कानमा तेल हालेर बसिरहेका छन्। हामी विद्यार्थीले गुहार माग्दै बोलेको न सरकारले सुन्छ न विश्वविद्यालयले सुन्छ न त त्यस्का आङ्गिक एवंम सम्बन्धन प्राप्त कलेजहरु सञ्चालन गरिरहेका उच्च व्यक्तित्वहरुलेनै “मरेका मान्छे राखिने मुर्दा घर जसरी सुनसान देखिन्छन् विश्वविद्यालय अनि त्यसका आंगिक एवंम सम्बन्धन प्राप्त कलेज र त्यहाँका सञ्चालकहरु। ”
काठमाडौँ विश्वविद्यालयले लकडाउन भएदेखि आन्तरिक परीक्षाको मूल्याङ्कन गरी नतिजा निकाल्ने र भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत शैक्षिक क्यालेन्डरलाई कुनै असर नपर्ने गरेर नियमित कक्षाहरु सञ्चालन गरिरहेको छ र त्यो प्रभावकारी पनि देखिएको छ। के त्रिभुवन, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदुरपश्चिमाञ्चल जस्ता विश्वविद्यालय हरुले यस्तो गर्न सक्दैनन् र? विश्वबजारमा भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत पढाइ भइरहेको काठमाडौँ विश्वविद्यालयको सर्टिफिकेट चल्ने अनि अरु विश्वविद्यालयको नचल्ने पनि कहि कतै हुन्छ र? मूल्यांकन गर्नलाई अरु सेमेस्टर र वार्षिक परीक्षा हरु बाकि छँदैछन् के १ semester वा १ वार्षिक परीक्षा आन्तरिक मूल्यांकन बाटै रेजल्ट निकाल्दा पहाड खस्ने अनि जमीन नै भासिने हुन्छ र ? यदि यो कुरा पनि सम्भव नभए “मामा नहुनु भन्दा कानो मामा हुनुनै बेस” भनेजसरी पठनपाठन सुचारु नभएर एकवर्ष ग्याप हुनुभन्दा मजस्ता धेरै निम्नवर्गीय विद्यार्थीहरुले ऋण नै काटेर भएपनि भर्चुअल क्लासरुम अनि अनलाइन क्लासमार्फत उपस्थिति हुला। के अब त्यो पनि सम्भव छैन र ? विश्वविद्यालय र कलेजहरु के पैसा असुल्ने भाडा मात्र हुन् र ? मुलुकमा आपतविपत आइपर्दा सोच्नु पर्ने बेला भएको छैन र? यदी यस्तो होइन भने हजुरहरुलाई के कुराले रोकेको छ? हुन्छ भने हुन्छ भन्दिनुस् हुन्न भने हुन्न भन्दिनु म जस्ता लाखौ विद्यार्थीहरूको भविष्य अन्धकारमा पारेर हामीलाई यता न उताको नपारी दिनुहोस्। चार वर्षमा सकिने कोर्स ५ वर्षमा सकिन्थ्यो अब यस्तै पारा हुने हो भने ६ वर्षमा पनि सकिन गाह्रो हुन्छ।
पोखरा , मध्यपश्चिमाञ्चल अरु विश्वविद्यालय अझैपनि नेतृत्व विहिन भएका छन् । यो अवधिमा प्रशासनिक एवम शैक्षिक गतिविधी शुन्य रहेको छ। शैक्षिक क्यालेन्डर धव्स्त भएको अवस्था छ ।वैक्ल्पिक शैक्षिक योजना पनि आधिकारिक रुपमा लागु हुन सकेको छैन ।विध्यार्थिले के बुझ्न जरुरी छ भने भोली यो वा त्यो बाहानामा हाम्रो ६ महिने सेमेस्टर २ महिने मात्र हुनेछ ।नेतृत्व एवम पदपुर्ती नगर्ने अनि १-२ महिनाको सैद्धान्तिक कक्षाको भरमा परिक्षामा होमिनु पर्ने जटिलता विद्यायार्थिले भोग्नुपर्ने ? कुलपतिको एवम सहकुलपतिको गल्तिको सिकार विध्यार्थी बन्नु पर्ने देखिन्छ। १-२ महिना कक्षा सञ्चालनको भरमा परिक्षा सञ्चालन हुन्छ के यसरी नै शैक्षिक गुणस्तर उभो लाग्छ होला त ?
सरकार लाई मन लागेको गर्न पाउने हो दुई तिहाइ मा.? अनि अब ल त्यो त छोडौँ गल्ती भयो होला अब सुधार्नु हुन्छ होला आशा छ तपाईं जस्तो जान्नेबुज्ने प्रधानमन्त्री बाट अब विश्वविद्यालय को हालत हेरौँ अझै कस्तो हुन्छ। विश्वविद्यालयहरुमा विगत महिनौ बाट न उपकुलपति छ, न रजिस्ट्रार,न परीक्षा नियन्त्रक,न डिनहरू सबै रिक्त भएका छन् अनि कुलपति को नाता ले तपाइले उपकुलपति नियुक्ति गर्नु पर्ने हैन र? म नियुक्ति गर्न सक्दैन असक्षम छु भन्ने लाग्छ भने म असक्षम छु भनिदिनुहोस् हामी बैकल्पिक बाटो खोजौला। यसरी चुप्प लागेर लाखौं विद्यार्थीहरूको भविष्यसँग खेलवाड नगरी दिनु होस् अहिलेका विद्यार्थी पछि देश विकासका मेरुदण्ड नै हुन्।
प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहनुभएको हजुरले बेसार,अदुवा तातोपानीको सल्ला सुझाव दिन ठीकै हो ति कुरा पछि सोचौला र समाजमा आलोचनात्मक हुने कुराहरु पनि नगरी दिनुहोस् बरु अहिले विश्वविद्यालय सोचिदिनुस्। सबैलाई अहिले विश्वविद्यालयहरु टुहुरो लाग्दै छन् ।
” कि लिपुलेकमा भारतीयले वर्षौंदेखि बाटो खन्दै गर्दा हजुरले थाहा नपाए जसरी विश्वविद्यालयमा रिक्त रहेका पदहरू हजुरलाई थाहा छैन र? ”
अब यसै पत्रबाट हजुर र हजुरका शिक्षामन्त्रीले थाहा पाउनु भयो होला भन्ने आशा छ । अझैपनि कानमा तेल हालेर सुने पनि नसुने झैं गरेर नबसी दिनुहोस् ।
केहीदिन अघि शिक्षामन्त्रीज्यु को अभिव्यक्तिले परिक्षा को छलफल स्व्यम विश्वविद्यालयले विद्यार्थीहरुका लागि हाल परिक्षा नलिइ अर्को सेमेस्टरमा पढाइ सुरु गर्न सक्ने बारे विश्वविद्यालयहरुले गृहकार्य गरिरहेको जानकारी गराउनु भएको थियो तर अहिलेसम्म पनि विश्वविद्यालयहरूले केही निर्णय गर्न सकेका छैनन्। के अब ढिलो भएन र ? अझै कति ढिलो गर्ने? कि परीक्षा हुन्छ भन्नुपर्यो कि हुँदैन भन्ने निर्णय जतिसक्दो चाँडो गरिदिनु पर्यो र मजस्ता विभिन्न विद्यार्थीहरु अन्यौलमा परेका छन् अन्योलबाट मुक्त गराई दिनु पर्यो।
यसरी अघि बढ्ने हो भने विद्यार्थीको भविष्य डामाडोल अनि भद्रगोल नै हुने देखिन्छ विद्यार्थीको मात्र नभई मुलुकको नै भविष्य अन्धकार हुने कुरामा दुईमत छैन। कोरोना र लकडाउनले गर्दा १ बर्ष नै लस त हुनेहैन भन्ने कुराले मजस्ता धेरै विद्यार्थीहरूको मनमुटु पिरोलिरहेको छ। यदि यस्तो भयो भने विद्यार्थीहरुलाई आफ्नो पठनपाठन व्यवस्थापन गर्न निकै कठिन हुने देखिन्छ। खाहि नपिहि ऋण, जोहो गरेर सहरमा कोठा भाडामा लिएर पढिरहेका लाखौ विद्यार्थीहरूको सपना चक्नाचुर हुने देखिन्छ। एक semester त खेर गयो गयो अब अर्को semester पनि खेर जाने होकी भन्ने कुराले म जस्ता अनेकौं विद्यार्थीहरु पिर मानेर अत्तालिदै आकुल ब्याकुल भहि यताउति भौतारि रहेका छौ।
“अर्थतन्त्र लगायत अन्य क्षेत्रहरूको ग्याप वा असरहरु त २/४ वर्षको मिहिनेतबाट रिकभर गर्न सकिएला। तर शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरुको मात्रै भविष्य बिग्रदैन, यसले सिंगो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालसम्म चोट पुर्याहि रहन्छ। यसरी नै शिक्षण संस्थाहरु बन्द राखेर पठनपाठन ठप्प गर्ने हो भने भविष्यमा शिक्षा क्षेत्र र मुलुकको विकासमा ठुलो क्षति हुने देखिन्छ । ”
तसर्थ भविष्यमा शिक्षा क्षेत्र र मुलुकको दिगो विकासमा भइ परि आउने ठूलो दुर्घटनाबाट बच्न र बचाउनको लागि अहिले नै नेपाल सरकारले दीर्घकालीन उपायहरु अपनाएर बन्द भएका विद्यालय,कलेज र विश्वबिद्यालयहरूको पठनपाठन के कसरी सुचारु गर्न सकिन्छ त्यता तिर ध्यान दिनु हुन बिनम्र अनुरोध गर्दछु।
धन्यवाद
उही हजुरको बिद्यार्थी
बाल गोपाल देवकोटा।