पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर रहेका २५ वटा प्रयोगशालामा ४ हजार ३ सय ६८ जनाको नमूना परिक्षण गर्दा १ सय १६ जनाको नतिजा पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या १७ हजार नाघेको छ । गौतमका अनुसार अहिलेसम्म १७ हजार ६१ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
त्यस्तै वितेको २४ घन्टामा देशभर ३४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ भने ६ हजार ६ सय ९५ जना विरामीहरु देशका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा रहेका छन् ।
नेपालमा आजको मितिसम्म २ लाख ९३ हजार ६ सय ३९ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ । तथ्यांकलाई विश्लेषण गर्ने हो भने जम्मा परीक्षण गरिएकामध्ये ५ दशमलव ८० प्रतिशतमा कोरोना पोजेटिभ भेटिएको छ ।