जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ ।
बलात्कार को अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । “हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेशानुसार यही असार २० गते परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो”, प्रहरी नायब उपरीक्षक घर्तीले भन्छन्, “ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भयो । यो सूचना पाउनेबित्तिकै हिरासत कक्ष सील गरेका छौँ ।”
उनका अनुसार ती युवकसहित ६ जनाको परीक्षण गरिएको थियो र कोरोना पुष्टि भएपश्चात् युवकलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेशनमा राखिएको छ ।
उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रदेश अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको छ र उनीहरुको नतिजा भने आइसकेको छैन ।