भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूतको नाम जोडेर हुँदै नभएको समाचार सम्प्रेषण गरिएपछि नेपालका मल्टिसिस्टम अपरेटरहरुले भारतीय न्यूज च्यानलहरु बिहीबारदेखि बन्द गरेका थिए । नेपाली अपरेटरहरुले सेवा बन्द गरेसँगै भारतभर हल्लाखल्ला भएको थियो । समाचारप्रति चर्को असन्तुष्टिसँगै च्यानल नै बन्द गरिएपछि सम्बन्धित मिडियाहरले आफ्नो समाचारको कारण नेपालीहरुको चित्त दुखेको भन्दै ‘खेद’ प्रकट समेत गरेका थिए ।
मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वतःस्फूर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।’
नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन र प्रसारण गर्दै आएका छन् । भारतीय टिभी च्यानल जी न्यूजले प्रधानमन्त्री केपी शर्मा र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक सामग्री प्रकाशित गरेपछि भारतीय मिडियाको चौतर्फी विरोध हुँदै आएको छ ।
सोही सामग्रीलाई लिएर प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले पनि कडा आपत्ति जनाएको छ । भारतीय मिडियाले पत्रकार आचारसंहिता विपरित सामग्री प्रशारण गरेपछि केही केबल अपरेटरहरुको बैठकले स्वतस्फूर्त रुपमा भारतीय न्यूज च्यानल बन्द गर्ने घोषणा गरेको बताइएको छ ।