सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ जम्बुमा गए राति आएको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक जनाको उद्धार गरिएको छ ।
पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो । उनलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।
बाढीले पुल भत्काएपछि अरनिको राजमार्गबाट सडक सञ्जाल टुट्न पुगेको छ भने खराव मौसमका कारण विहानैदेखि हेलिकप्टरबाट उद्दार गरिने तयार गरेतापनि ल्यान्ड गर्न सकिएको थिएन् । काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर मधयान्हतिर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।
यसअगाडी केटीएम दैनिकमा प्रकाशित भएको समाचारमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिएका थिए ।