कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् ।
ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैँक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा छन् ।
पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन शुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाए ।
मेगा बैंकमा १८, कामनामा १७, सिद्धार्थमा १४ र साङ्ग्रिला बैंकमा १६ गाडीको चाबी बुझाइएको प्र्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । यसअघि ९० गाडीको चाबी बुझाइएको थियो । व्यवसायीले अहिलेको विषम अवस्थामा किस्ता भुक्तानी गर्न नसकिने र न्यूनतम छ महिना म्याद थप गर्न सरकारसँग माग गरे पनि सुनुवाई नभएपछि गाडीको चाबी नै सम्बन्धित बैंकमा बुझाएर दबाब शुरु गरेका हुन् ।
आफूहरुसँग यसबाहेक अन्य कुनै पनि विकल्प नभएकाले बाध्य भएर ऋण लिँदा राखेको धितो बैंकलाई नै सुम्पनुपरेको गुनासो यातायात व्यवसायीको छ । सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको र विषम अवस्थामा समेत थप प्रताडित बन्नुपरेको अध्यक्ष केसी बताउँछन् ।
देशभर ३ लाख यात्रुवाहक तथा ६० हजार मालवाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाख जनाले अप्रत्यक्ष रोजगारीबाट बञ्चित हुनुपरेको भनाइ व्यवसायीको छ ।
कतिपय बैंक तथा वित्तीय संस्थाले भने आर्थिक वर्षको अन्तिम असार मसान्तमा संस्थाको हिसाब मिलान गर्न ऋणीलाई ताकेता गर्ने गरेको बताइन्छ । बैंकबाट ताकेता हुन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् ।