गुरुब्रह्मा गुरुविर्ष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।
गुरु पूर्णिमाको शुभ अवसरमा, संसारका सबै गुरुहरुलाई मेरो सादर प्रणाम । हाम्रा सबै सन्त, मुनि र महान व्यक्तित्वहरूले गुरुको महत्त्वलाई उच्च स्थान दिएका छन । संस्कृतमा ‘गु’ को अर्थ हुन्छ अँध्यारो (अज्ञान) र ‘रु’ को अर्थ हुन्छ उज्यालो (ज्ञान)। गुरुले हामीलाई अज्ञानताको अँध्यारोबाट ज्ञानको उज्यालो तिर लैजाने काम गर्द्छन् ।
प्रत्येक वर्ष आषाढ़ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमाको पर्व मनाइने गरिन्छ । हिन्दू, बौद्ध र जैन धर्मका व्यक्तिहरू यस दिन आफ्ना गुरुको सम्मानमा उपवास, पूजा आदि गरेर आफ्नो चाड मनाउँछन् ।
हाम्रा आमाबुबा हाम्रो जीवनको पहिलो गुरु हुन् । जो हाम्रो पालनपोषण गर्छन्, सांसारिक जीवनमा पहिलो पटक हामीलाई बोल्न, हिँड्न र प्रारम्भिक आवश्यकताहरूको बारेमा सिकाऊँछन । त्यसकारण, आमाबुबाको स्थान सबै भन्दा माथि हुन्छ । जीवनको विकास सहज रूपमा चलाउन हामीलाई गुरु चाहिन्छ । भविष्यको जीवनको निर्माण गुरु बाट नै हुने गर्दछ ।
एउटा राजा थिए । उनी पढ्न-लेख्न मन पराउँथे । एक पटक मन्त्रिपरिषद् मार्फत, उनले आफ्नो लागि एउटा शिक्षकको व्यवस्था गरे । शिक्षक राजालाई सिकाउन आउन थाले । राजालाई शिक्षा प्राप्त गर्दा धेरै महिना बितिसक्यो तर राजालाई केहि लाभ भएन । गुरु त दिनहुँ धेरै मेहनत गर्थे, तर राजालाई उनको शिक्षाबाट केहि लाभ भने हुन सकेको थिएन ।
राजा साह्रै दु:खी थिए, गुरुको प्रतिभा र क्षमतामाथि प्रश्न उठाउनु पनि गलत थियो किनभने उनी एकदम प्रसिद्ध र योग्य गुरु थिए । यसबारेमा राजाले रानीसँग छलफल गर्दा रानीले राजालाई सल्लाह दिईन कि यो प्रश्न गुरुजीलाई नै सोध्नु पर्छ।
राजाले साहस गरेर आफ्नो कौतूहल गुरुजीको अगाडी राखे, “हे गुरुवर, माफ गर्नुहोला, मैले तपाईबाट धेरै महिनादेखि शिक्षा लिईरहेको छु तर यसबाट मलाई कुनै लाभ भईरहेको छैन । किन यस्तो होला? ”
गुरुजीले एकदम शान्त आवाजमा जवाफ दिए, “राजन, यसको कारण धेरै सरल छ।”
“गुरुवर, कृपया यो प्रश्नको जवाफ छिट्टै दिनुहोस्”, राजाले बिन्ती गरे।
गुरुजीले भने, “राजन, कुरा एकदम सानो छ तर तपाईं आफु ‘ठूलो’ भएको अहंकारले यसलाई बुझ्न असमर्थ भएको हुनाले दु:खी र विचलित हुनुहुन्छ । हो, निश्चित रुपमा तपाईं एउटा ठूलो राजा हुनुहुन्छ । तपाईंको मान, प्रतिष्ठा र सम्मान म भन्दा धेरै ठूलो छ, तर यहाँ तपाईं र मेरो सम्बन्ध एक गुरु र एक विद्यार्थीको हो । एक गुरुको रूपमा, मेरो बस्ने ठाउँ तपाईं भन्दा उच्च हुनुपर्छ, तर तपाईं आफ्नो सिंहासनमा विराजमान हुनुहुन्छ र मलाई तल बसाल्नुहुन्छ । यसै एउटा मात्र कारणले गर्दा तपाईंलाई न कुनै शिक्षाको प्राप्ति भई रहेको छ, न कुनै ज्ञानको । तपाइँ राजा भएकोले गर्दा मैले यो कुरा यहाँसँग भन्न सकिरहेको थिएन । भोलीदेखि, यदि तपाईंले मलाई उच्च पदमा बस्न र आफु तल बस्न लगाउनु भयो भने, कुनै कारण छैन कि तपाईलाई शिक्षाको प्राप्ति हुन न सकोस ।”
राजाले सबै कुरा बुझे र तुरुन्त आफ्नो गल्ती स्वीकारे र गुरुवरबाट उच्च शिक्षा हासिल गरे।
मित्रहरू, यस छोटो कथाको सार यो हो कि हामी कुनै पनि सम्बन्ध, ओहदा वा धनमा जति नै ठूलो भए पनि, यदि हामीले आफ्ना गुरुलाई उचित स्थान दिएनौं भने हाम्रो लागि राम्रो हुन गाह्रो छ । र यहाँ स्थानको अर्थ केवल माथि वा तल बस्नु मात्र होइन, यसको सही अर्थ हो कि हामीले आफ्नो मनमा गुरुलाई कहाँ स्थान दिई रहेका छौं ।
के हामी उनीहरूलाई साँच्चिकै सम्मान दिईरहेका छौं वा हामी आफै ठूलो भएको घमण्डमा छौं ? यदि हामी हाम्रो गुरु वा शिक्षकप्रति कृतज्ञता महसुस गर्न सक्दैनौ भने हामी उनीहरूको योग्यता र भलाइको कुनै लाभ लिन पनि सक्दैनौं र यदि हामी उनीहरूलाई सम्मान गर्छौं र उनीहरूलाई महत्त्व दिनेछौं भने हामी उनीहरूको आशीर्वाद सजिलै पाउँनेछौं ।