बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।
केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ ।
भेडबाख्रा जस्तै गरी बस्नुपर्छ क्वारेन्टाइनमा
बाग्लुङ्ग जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा सयौँ नागरिकहरु कष्टपूर्ण जीवन बिताएर बसिरहेका छन् ।
क्वारेन्टाईनमा १४ दिन बस्नै पर्ने र पीसीआर रिपोर्ट नेगेटिव आएमा घरमा जान दिईने, रिपोर्ट पोजेटिभ आए अर्थात कोरोना संक्रमण पुष्टि भएका आईसोलेसन कक्षमा बसी उपचार गर्ने सरकारी निती छ ।
बिडम्वना क्वारेन्टाईनमा बसेको झण्डै चार हप्ता पुग्दा पनि धेरै जनाको स्वाब संकलन नै गरिएको छैन, पीसीआर रिपोर्टको कुरा छोडौँ । जजस्को स्वाब संकलन गरी परीक्षणको लागी पठाईएको छ त्यस्को रिपोर्ट पनि दुई हप्ता बित्दापनि आएको छैन । दुईचार दिनमा एक पटक पोखराबाट दुईचार जनाको रिपोर्ट सार्वजनिक हुने गरेको छ । प्रतिक्षाको पनि हद हुन्छ, कति दिन पर्खिबस्ने ? भनेर क्वारेन्टाईनबासी प्रश्न गरिरहेका छन् ।
पीसीआर परीक्षण नगरी घर जान नहुने, क्वारेन्टाईनमा भेँडाबाख्रा झै कोचिएर बस्नु पर्ने, पानी आउँदा चुहिएर रुझिने, घामलाग्दा च्वात्च्वाती पोल्ने, कहिले कसको त कहिले कसको सहयोगका भरमा जीवन पाल्नु पर्ने क्या भूमरीमा परियो भन्दै कहराउदै छन क्वारेन्टाईनबासी ।