केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला श-ल्यक्रिया गर्न अस्पतालमा गइन् ।
घरबाट कहीँकतै नगएकी उनमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ ।
उपत्यकामा यसरी स्थानीयमा देखिन थालेको करिब एक हप्ता मात्रै भएको जनाइएको छ ।
कसरी आफूमा देखियो भनेर सङ्क्रमित व्यक्तिले पनि अनुमान लगाउन सकेका छैनन् ।
परिवारमा नदेखिँदा उनमा कसरी भयो भन्ने खोज्न अहिले स्वास्थ मन्त्रालयको एक समूह लागेको छ ।
परिवारमा पनि सङ्क्रमण नभएको, विदेश पनि नगएको, विदेश गएका व्यक्तिको सम्पर्कमा पनि नपुगेको व्यक्तिमा सङ्क्रमण देखिनुले अब उपत्यका थप जो-खिममा छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
“पछिल्लो एक हप्तामा उपत्यकामा त्यस्ता केसहरु देखिन थाले, कहीँ पनि नगएको व्यक्तिमा कोरोना सङ्क्रमण देखियो, हामी कन्ट्रयाक ट्र्सिङ गरिरहेका छौँ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “यस्तो कसरी भयो भन्ने यकिन गर्दैछौँ ।”
“त्यस्ता व्यक्तिमा कि कुनै अस्पतालमा जँचाउन जाँदा सर्यो कि तरकारी वा केही चिज किन्न जाँदा हुनसक्छ या त भीडभाडमा पुग्दा सङ्क्रमण भएको हो”, डा गौतमले अनुमान गर्दै भने ।
भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ ।
विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो ।
थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।
सरकारले उपत्यका प्रवेशमा कडाइ गरे पनि लुकीलुकी भित्रिने क्रम रोकिएको छैन ।
त्यहाँबाट पनि सङ्क्रमित व्यक्ति प्रवेश गर्ने सम्भावना छ ।
नाकामा अझै कडाइ आवश्यक रहेको र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न जरुरी रहेको नेपाल चिकत्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्कीले भने ।
बिहीबार मात्रै उपत्यकामा ३२ जना कोरोना सङ्क्रमित फेला परे ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
ललितपुर र भक्तपुरका दुई÷दुई जना सङ्क्रमित फेला परेका छन् ।
उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ ।
जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् ।
आज मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।
योसँगै मुलुकभर ३२ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका मध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् ।