१९ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
शुक्रबार एकै दिन ७ सय ४० जनामा कोरोना संक्रमण
शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।
एकैदिनमा यति धेरै संक्रमित भेटिएको यो पहिलोपटक हो ।
डा गौतमका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३२ पुगको छ ।
नेपालमा अहिलेसम्म २ लाख ४२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट नमूना परिक्षण गरिएको छ ।