भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अचानक चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको स्थल लद्दाख पुगेका छन् ।
प्रधानमन्त्री मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत, सेना प्रमुख एमएम नाराभाने र अन्य वरिष्ठ अधिकारी पनि प्रधानमन्त्री मोदीसँगै त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।
दुई देशका सेनाबीच भिडन्त भएको लद्दाखकै लेह क्षेत्रमा अवलोकनका लागि शुक्रबार बिहान ९ बजे पुगेका हुन् ।
भारतको कठिन सीमा क्षेत्रमा पर्ने यहाँ मोदी सेनाको हेलिकप्टरमार्फत पुगेका थिए ।
गत महिना लद्दाखमै भारतीय सेना र चिनियाँ सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।
त्यस क्रममा केही सैनिक घाइते समेत भएका थिए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लेह पुगेका सञ्चारमाध्मयले बताएका छन् ।
प्रधानमन्त्री मोदीले लेहमा ती घाइतेहरुलाई पनि भेट्ने कार्यक्रम छ ।
लद्दाखमा उत्पन्न तनावपछि नै मोदी सरकारले टिकटकसहित चिनियाँ ५९ वटा एप्समाथि प्रतिबन्ध लगाएको छ ।