नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बालुवाटारमा पार्टीको आन्तरिक छलफलबाट उठेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेको मा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।
प्रचण्ड निवासमा नेकपा नेताले लिए सपथ
नेकपाका अध्यक्ष प्रचण्डले पनि निवासबाटै पार्टीका महत्वपूर्ण काम गर्न थालेका छन् । कतिसम्म भने नेताहरुको सपथ समेत उनले निवासमै खुवाउन थालेका छन् । नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले प्रचण्डको निवास खुमलटारमा सपथ लिएका हुन्।
अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, श्रममन्त्री रामेश्वर राय यादव र सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको उपस्थितिमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेलले बुढाथोकीलाई सपथ खुवाएका हुन् ।
पार्टी कार्यालयमा लिनुपर्ने सपथ बुढाथोकीले आइतबार अध्यक्ष दाहाल निवास खुमलटारमा लिएका हुन्। ‘अहिले स्थायी कमिटी बैठक नै अर्का अध्यक्षको सरकारी निवासमा बसिरहेको छ,’ नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले भने, ‘काठमाडौं आएको मौकामा अध्यक्षकै निवासमा सपथ खुवाउँदा ठीकै हुन्छ भनेर खाएको हो। यसलाई अन्यथा लिनु हुँदैन।’
नेकपाको पार्टी कार्यालय प्राय सुनसान हुने गरेको छ । अध्यक्ष र शीर्ष नेताको घरमा भने भिड लाग्ने गरेको छ ।-