बिहीबार बिहानै धादिङको सिमाना मौवाखोला बाँदरेमोडमा जीप त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । नदीमा बिहान करिब ६ बजेको समयमा खसेको गाडीको कुनै पनि भाग देखिएको छैन ।
नदीमा खसेको जीप कहाँदेखि कता जाँदै थियो वा त्यसमा के कति मान्छे थिए भन्ने जस्ता विवरण पत्ता लाग्न सकेको छैन ।
दुर्घटनाको प्रकृति हेर्दा मुग्लिन तर्फबाट काठमाडौँ तर्फ आएको देखिन्छ ।
अहिले चितवनको इच्छाकामना स्थित शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका गोताखोर टिम र धादिङ प्रहरीले खोजी कार्य जारी राखेको छ ।
छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु
जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
डुबेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डुबेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।