काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र परिवारवाद भित्र्याएका छन् ।
जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी ।
छोराछोरीलाई स्वकीय सचिव बनाउनेदेखि भाइलाई पार्टीको प्रदेश अध्यक्ष, ज्वाइँलाई सरकारी नियुक्ति दिलाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले ‘कीर्तिमान’ नै खडा गरेपछि त्यो आरोप प्रचण्डतिर सरेको हो ।
तत्कालीन नेकपा माओवादीले शुरू गरेको जनयुद्धमा परिवारका सदस्यलाई समेत आफूसँगै बन्दुक बोकाएर ‘उदाहरणीय’ बनेका अध्यक्ष दाहाल यतिबेला हामीबाट ‘म’मा रुपान्तरित भएको पार्टीवृत्तमा चर्चा चल्न थालेको छ ।
त्यसो त दाहाल पारिवारवादको चङ्गुलमा फसेको नवीन र ताजा घटना होइन । २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेलादेखि नै उनले ‘दाहालतन्त्र’को सूत्रपात गरेका हुन् ।
त्यतिबेला हाल दिवंगत भइसकेका छोरा प्रकाश दाहाललाई सचिवालयमा नियुक्त गरेको भन्दै पार्टीभित्र आलोचनाको स्वर सुनिएको थियो । त्यसो त पत्नी सीता दाहाल तत्कालीन माओवादी केन्द्रको सल्लाहकार कमिटीमा थिइन् । पार्टी एकतापछि भने उनी कुनै जिम्मेवारीमा छैनन् । बिरामीले गालेकाले सक्रिय हुन सक्दिनन् ।
दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पनि उनले परिवार र नातागोतालाई सरकारी नियुक्ति दिलाउन छाडेनन् ।
नाताले आफ्नै भतिजा पर्ने समीर दाहाललाई उनले पीए नियुक्त गरेका थिए ।
त्यस्तै छोरा प्रकाश दाहाललाई पनि दाहालकै पार्टी पोलिट्व्यूरो सदस्य र प्रधानमन्त्रीको सचिवालयमा राखिएको थियो ।
०७५ मा आइपुग्दा अध्यक्ष दाहाल परिवारवादको चङ्गुलमा नराम्ररी फसेको प्रतीत हुन्छ ।
यसपटक छोरी–ज्वाइँ, बुहारी, सम्धी, भतिजो गरी झन्डै १० जनालाई उनले सरकारी नियुक्ति दिलाएका छन् भने भाइ नारायण दाहाललाई नेकपाको प्रदेश अध्यक्ष बनाएका छन् ।
छोरीलाई मेयर, बुहारीलाई मन्त्री
०७४ वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणना सम्झन लायक रह्यो ।
कांग्रेस–माओवादी केन्द्रकी साझा उमेदवार प्रचण्डपुत्री रेणु दाहाललाई मेयर पदमा जिताउन मतपत्र च्यात्ने र दोहोर्याएर चुनाव गराउनेसम्म प्रपञ्च रचियो ।
मतपत्र च्यातेको कसुरमा तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरी जनही एक–एकलाख रुपैयाँ जरिवाना सुनाइसकेको छ ।
केटिएम दैनिकको सिस्टर पव्लिकेशन ईमेची डटकममको अर्काइभबाट