महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८६ हजार ९ सय ५६ जना सङ्क्रमित भएका छन् ।
तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार २ सय ५६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ५ सय ४६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।
कुल सङ्क्रमितमध्ये ३ लाख ४७ हजार ८ सय ३६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०६ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।
प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७ सय ६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १ सय ६७ जना सङ्क्रमित भएका छन् ।
अधिकारीहरुका अनुसार तमिलनाडुमा १ हजार २ सय १ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३ सय ६० जना सङ्क्रमित भएका छन् ।