सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक ६ लेनमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न शुरु गरेको छ ।
आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले रु १ अर्ब बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३ सय ८० रुख काट्न शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्ले बताउँछन् ।
सडक विस्तारको डिपिआर निर्माण भइरहेको सो सडक विस्तारका लागि सडकको मापदण्डभित्रका संरचना हटाउने, सिमाङ्कन गर्ने कार्य भइरहेका अवस्थामा अरनिको राजमार्ग खण्डको बूढो रुखले दुर्घटना निम्त्याउनसक्ने भएकाले काट्न थालिएको उनको भनाइ छ ।
एकातिर सडक बिस्तार गरिने र अर्कोतर्फ आयु सकिएका बुढा रुख सडक दायाँबायाँ हुँदा हावाहुरीले ढलेर दुर्घटना हुनसक्ने जोखिम पनि उत्तिकै रहेको छ । सडक किनाराका रुख काट्न र व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा करिब रु ३५ लाख विनियोजन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण केसी बताउँछन् । रुख कटानबाट निस्किएको करिब ११ हजार २ सय क्युविकफिट काठ र दाउरा लिलाम गरिने भएको छ ।