भारतको राजस्थानस्थित भीलवाडामा एक वैवाहिक समारोहमा प्रतिबन्धका बाबजुद २५० जनालाई बोलाउनु दुलाहाका लागि महंगो पर्यो।
विवाहमा आएका १५ जनामा कोरोना संक्रमण देखियो। यसमा दुलाहा र उनका पिता पनि संक्रमित भएका छन्। कोरोनाका कारण दुलाहाका हजुरबुवाको निधन नै भयो।
संक्रमित सबैलाई अस्पताल भर्ना गरिएको राजस्थान सरकारले जनाएको छ।
जन्ती गएका १२७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको क्वारेन्टाइन र उपचार खर्च दुलाहाका पिताबाट असुल गरिने निर्णय राज्य सरकारले गरेको छ। सरकारी खर्चअनुसार क्वारेन्टाइनमा रहेका १२७ जनाको खर्च हालसम्म ६ लाख २६ हजार ६ सय आएको छ।
भीलवाडाका जिल्ला मजिस्ट्रेट राजेन्द्र भट्टले नोटिस जारी गरेर तहसीलदारलाई दुलाहाका पिताबाट ३ दिनभित्र रकम असुली गरेर मुख्यमन्त्री राहत कोषमा जम्मा गर्न निर्देशन दिएका छन्।
मजिस्ट्रेटले उपचारका क्रममा अब आउने खर्च पनि जरिवानास्वरुप दुलाहा पिताले नै भर्नुपर्ने आदेश पनि दिएका छन्।
राजस्थान सरकारले एपिडेमिक एक्टअनुसार यो कारवाही गरेको बताइएको छ। सरकारले लकडाउनमा विवाह समारोहमा ५० भन्दा बढी मानिस जम्मा भए कानुनी कारवाही गर्ने चेतावनी दिएको थियो।
तर, यो परिवारले नियम उल्लंघन गर्दै १९ जुनमा भीलवाडाको दादा मोहल्लेमा विवाह समारोह आयोजना गरेर २५० जनालाई बोलायो।
विहेपछि २१ जुनमा विवाहमा सहभागी भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिन थाल्यो।
चिकित्सकका अनुसार विवाह समारोहमा सहभागीमध्ये वृद्धहरु कोरोनाको संक्रमणमा परेका छन्।
कोरोना देखिएका अन्य व्यक्तिमा दुलाहाका काकालगायत आफन्त छन्।
अहिलेसम्म दुलहीसहित १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।