कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर १ सय ५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २ सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
माथि उल्लेख गरिएको तथ्यांक नेपाल बाहेक अन्य देशको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७ सय नेपालीहरु कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका ८ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ।
एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा श-व पनि नेपाल पठाएको बताएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली सङ्क्रमणबाट मुक्त भएका छन् ।
नेपालमा १२ हजार भन्दा बढी संक्रमित
नेपालमा हालसम्म १२ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७७२ पुगेको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०१३ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ ।