शुक्रबारको बैठकमा उपस्थित प्राय: नेताहरूको घाँटीमा नीलो रङको कार्डजस्तो झुन्डिएको देखिन्थ्यो।
कार्यालयका कर्मचारीले व्यक्तिगत परिचयपत्र झुन्ड्याएजस्तो देखिने यो कार्ड आखिर के हो?
नेकपाका वरिष्ठ नेता माधव नेपालले ‘कोरोना भाइरस नजिक आउन नदिने’ भन्दै बैठकमा उपस्थित नेताहरूलाई उक्त कार्ड वितरण गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए।
‘माधव (नेपाल) कमरेडले दिनुभएको हो, जापानमा पनि यस्तो कार्ड प्रयोग हुन्छ रे। यसलाई घाममा देखाउन हुँदैन रे,’ नेकपा स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले आफ्नो घाँटीको कार्ड देखाउँदै भने, ‘मलाई त यो केटाकेटीलाई भूतप्रेत नलागोस् भनेर लगाइदिने जन्तरजस्तै लागेको छ। काम गर्छ कि गर्दैन थाहा छैन, बेसारको धूलोजस्तै हुने हो कि!’
‘भाइरस ब्लकर’ भनिने यस्तो कार्ड झुन्ड्याएर हिँड्दा कोरोनाबाट जोगिन्छ भन्ने वैज्ञानिक रूपले प्रमाणित तथ्य होइन। तर, नेताहरूको पहुँचमा पुगिसकेपछि ढिलोचाँडो यो कार्ड जनस्तरमा पनि फैलिनसक्छ। यसले अनाहक पैसा खर्च हुने त छँदैछ, ‘जन्तर’ लगाएर ढुक्क भएर हिँड्दा झन् कोरोना सल्किने हो कि भन्ने डर पनि छ।
जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो ।
यसलाई जापान, हंगकंग, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ ।जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो ।
यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ ।त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ ।हंगकंगका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले भनेका छन् यो पुरै भ्रम हो, यसले स्वाश्प्रश्वासजन्य भाइरसबाट सुरक्षा गर्दैन |
यसको अध्ययन गर्दा मेरो के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन ।नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ ।क्लोरिन डाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ ।यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन ।यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ ।
यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महशुष हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ । जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ ।कोभिड १९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य बस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन |
चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो बिज्ञापन गर्न सफल भएको छ ।संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन ।
यो कार्ड धेरै जनाले लगाएर बन्द कोठाभित्र बैठक गर्दा यसको घनत्व उच्च भएर बैठकमा सहभागी अधिकांश व्यक्तिलाई असर गर्न सक्ने सम्भावना धेरै हुन्छ ।तसर्थ बैज्ञानिक पुष्टि र अनुसन्धानबिना यसको प्रयोग नगरौं ।