एउटा प्राथमिक विद्यालयमा अञ्जलि नामकी शिक्षिका थिइन् । उनी कक्षा ५ की कक्षा शिक्षक थिइन् । उनको एउटा बानी थियो सधैँ कक्षामा आउने बित्तिकै सबै विद्यार्थीहरूलाई “लभ यु अल” भन्ने गर्थिन् । तर उनलाई थाहा थियो कि उनले सत्य बोलेकी छैनन् । उनी कक्षाका सबै बच्चाहरूलाई एकै किसिमले माया गर्दिन थिइन ।
त्यस कक्षामा एउटा बच्चा थियो जसलाई उनिले पटक्कै मन पराइनन् । उसको नाम ‘राजु’ थियो । राजु सधैँ फोहोर कपडाहरू लगाएर नै विद्यालय आउने गर्थ्यो । उसको कपाल बिग्रिएको हुन्थ्यो, जुत्ताहरू फाटेका हुन्थे, सर्टको कलरमा फोहोर हुन्थ्यो । अध्ययनको बेलामा पनि उसको ध्यान अन्यत्र कतै हुन्थ्यो ।
त्यसको ध्यान अन्यत्र बाट हटाउन म्याडमले उसलाई हप्काउँदा उ झस्केर म्याडमलाई स्तब्ध परेर हेर्ने गर्थ्यो, तर त्यसको खाली खाली आँखाहरू बाट प्रस्ट भई हाल्थ्यो कि राजु शारीरिक रूपमा कक्षामा उपस्थित भए पनि मानसिक रूपमा हुँदैनथ्यो । बिस्तारै राजु बाट म्याडमलाई घृणा हुन थाल्यो । कक्षामा प्रवेश गर्ने बित्तिकै राजुले म्याडमको आलोचनाको सिकार हुनु पर्थ्यो । विद्यार्थीहरूले पनि राजुलाई जिस्काउने र गिज्याउने गर्दथे ।
म्याडम उसलाई अपमानित गरेर सन्तुष्टि प्राप्त गर्थिन् । तर राजुले कहिले पनि कुनै जवाफ दिएन । म्याडमलाई राजु आत्मा न भएको निर्जीव ढुङ्गा जस्तो देखिन्थ्यो । प्रत्येक निन्दा, व्यङ्ग्य र सजायको जवाफमा, उ आफ्नो भावनाको खाली आँखाले उनीलाई हेर्ने अनि टाउको निहुराएर चुप्प लागेर बस्ने गर्थ्यो । म्याडमलाई अब राजुबाट धेरै गहिरो घृणा हुन थाल्यो ।
पहिलो सेमेस्टर सिद्धियो र प्रगति रिपोर्टको चरण आयो, म्याडमले सबै नराम्रा कुराहरू राजुको प्रगति रिपोर्टमा लेखिन् । प्रगति रिपोर्ट अभिभावकलाई देखाउनु अघि हेडमास्टर कहाँ जाने गर्थ्यो । हेडमास्टरले राजुको प्रगति रिपोर्ट पढ्नुभयो र म्याडमलाई बोलाएर भन्नुभयो – ” म्याडम, प्रोग्रेस रिपोर्टमा केही त राजुको प्रगतिको बारेमा लेखिएको हुनुपर्थ्यो । तपाईँले जे पनि लेख्नुभएको छ, त्यसले त राजुको बुबालाई निराश बनाउनेछ ।” शिक्षिकाले भनिन्, “म माफी चाहन्छु सर, तर राजु एकदम असभ्य र बेकार बच्चा हो । मलाई लाग्दैन कि म उसको प्रगतिको बारेमा केही लेख्न सक्छु ।” यति भन्दै उनी स्कुलबाट बाहिरिइन् ।
भोलिपल्ट हेड मास्टरले चपरासीलाई राजुको अघिल्लो वर्षको प्रगति रिपोर्ट म्याडमको डेस्कमा राख्न लगाए । शिक्षिकाले कक्षाकोठामा प्रवेश गर्दैमा आफ्नो डेस्कमा रिपोर्ट देख्नु भयो । पछाडि हेरेपछि थाहा पाइन् कि यो त राजुको रिपोर्ट हो । शिक्षिकाले सोचिन् कि राजुले पहिलेको कक्षाहरूमा पनि उही प्रकारको नतिजा ल्याएको हुनुपर्छ । उनले कक्षा ३ को रिपोर्ट खोलिन् ।
रिपोर्टमा टिप्पणी पढेर उनी छक्क परिन् जब उनले देखिन् कि उक्त रिपोर्टमा त राजुको धेरै प्रशंसा गर्दै लेखिएको थियो “मैले आजसम्म राजु जस्तो बुद्धिमानी बच्चालाई देखेको छैन, उ धेरै संवेदनशील छ र उसले आफ्ना साथीहरू र शिक्षकहरूलाई धेरै मन पराउँछ ।” अगाडी लेखिएको थियो – “अन्तिम सेमेस्टरमा पनि राजु पहिलो स्थानमा छ ।”
म्याडमले अनिश्चित स्थितिमा कक्षा ४ को रिपोर्ट पनि खोल्नुभयो । यसमा लेखिएको थियो “राजुको पढाइमा आफ्नी आमाको बिमारीबाट धेरै असर परेको छ । उसको ध्यान अध्ययनबाट फर्किएको छ । राजुकी आमालाई अन्तिम चरणको क्यान्सर छ । ऊसँग घरमा हेरचाह गर्ने कोही छैन, जसले उसको अध्ययनमा गहिरो प्रभाव पारेको छ । “त्यसको तल हेड मास्टरले लेख्नु भएको थियो “राजुकी आमा मरिसकेकी छिन् र यसको साथमा राजुको जीवनको चमक पनि । उसलाई बचाउनु पर्छ … ढिलो हुनु भन्दा पहिले ।”
यो पढेर शिक्षिकाको दिमागमा एउटा डरलाग्दो भार पर्यो । थरथर काँपिरहेको हातले उनले प्रगति रिपोर्ट बन्द गरिन् । म्याडमका आँसु झर्न थाले, उनले साडीले आफ्ना आँसु पुछिन् । अर्को दिन कक्षामा प्रवेश गर्ने बित्तिकै आफ्नो बानी अनुसार उनले आफ्नो परम्परागत वाक्यांश “लभ यु अल” लाई दोहोर्याइन् । तर उनीलाई थाहा थियो कि उनले आज पनि झूट बोली रहेकी छिन् । किनभने त्यसै कक्षामा बसी रहेको कपाल बिग्रिएको बच्चा राजुका लागि आज जो माया उनी आफ्नो हृदयमा महसुस गरी रहेकी थिइन् त्यो कक्षामा बसी रहेका अरू कुनै पनि बच्चा भन्दा बढी थियो ।
अध्ययनको क्रममा उनले दैनिक दिनचर्याको जस्तै राजुलाई एउटा प्रश्न सोधिन् र राजुले पनि सधैँ जस्तो आफ्नो टाउको झुकाई हाल्यो । केही समयको लागि जब म्याडमबाट हप्काइएन र उसको कानमा सहपाठी सहकर्मीहरूको हाँसोको आवाज पनि आएन, तब उसले छक्क पर्दै आफ्नो टाउको उठाई म्याडमतिर हेर्यो । उनी मुस्कुराई रहेकी थिइन् । उनले राजुलाई आफू कहाँ बोलाइन् र प्रश्नको उत्तर दिएर जबरजस्ती फेरि दोहोर्याउन लगाइन् । अन्ततः तीन चार पटकको आग्रह पछि राजुलाई बोल्नै पर्यो । राजुले जवाफ दिँदा बित्तिकै म्याडमले खुसी भएर ताली बजाइन् र अरू बच्चाहरूलाई पनि बजाउन लगाइन् ।
अब त यो दिनचर्या बन्न गयो । म्याडमले आफैले प्रत्येक प्रश्नको जवाफ दिने र राजुको धेरै प्रशंसा गर्ने गर्थिन् । प्रत्येक राम्रो उदाहरण कक्षामा राजुको कारणले नै दिइने गरिन्थ्यो । बिस्तारै, पहिलेको राजु मौनको चिहान च्यातेर बाहिर आउन थाल्यो । अब म्याडमलाई कुनै पनि प्रश्नको उत्तर दिन आवश्यक थिएन । अब त हरेक दिन राजुले कुनै त्रुटि बिना प्रत्येक प्रश्नको उत्तर दिएर सबैलाई प्रभावित पार्ने र नयाँ नयाँ प्रश्नहरू सोध्दै सबैलाई छक्क पार्ने गर्थ्यो ।
अब त्यसको कपाल केही हदसम्म सुधार भएको हुन्थ्यो, उसको लुगा पनि धेरै हदसम्म सफा गरिएको हुन्थ्यो, जुन उसले सायद आफैले धुने गर्थ्यो । हेर्दा हेर्दै वर्ष पनि बित्न गयो, राजुले दोस्रो स्थान प्राप्त गर्यो र कक्षा ५ उत्तीर्ण गरेर अब अर्को स्कुलमा भर्नाको लागि तयार थियो । कक्षा पाँच को बिदाइ समारोहमा सबै बच्चाहरूले म्याडमको लागि सुन्दर उपहारहरू ल्याए र म्याडमको टेबुल उपहारहरूले टन्न भरिएको थियो । यी सुन्दर ढङ्गले प्याक गरिएका उपहारहरूमध्ये एउटा पुरानो पत्रिकामा अव्यवस्थित ढङ्गले प्याक गरिएको एउटा उपहार पनि थियो । बच्चाहरू उसलाई देखेर हाँस्दै थिए । सबैले अनुमान गरी सकेका थिए कि यो उपहार राजुले नै ल्याएको हो भनेर ।
म्याडमले उपहारको यो सानो पहाडबाट उफ्रेर राजुको उपहार लिइन् । खोलेर हेर्दा त्यसको भित्र महिलाहरूले प्रयोग गर्ने एउटा आधा प्रयोग गरिएको अत्तरको सिसी थियो र एउटा हातमा लगाउने ठुलो बाला (ब्रासलेट) थियो, जसको धेरै जसो मोतीहरू झरी सकेका थिए । शिक्षिकाले चुपचाप यो इत्रर आफूमाथि छर्किनु भयो र त्यो बाला (ब्रासलेट) हातमा पहिरनु भयो ।
बच्चाहरू यो दृश्य देखेर सबै छक्क परे, र राजु आफै पनि । आखिर, राजुले एक्लै बस्न सकेन र म्याडमको नजिकै गएर उभियो । केही समय पछि उसले भक-भकाऊँदै म्याडमलाई भन्यो, “आज तपाई बाट मेरी आमा जस्तो सुगन्ध आई रहेको छ ।” यति सुन्दैमा म्याडमको आँखा बाट आँसु झर्न थाले र म्याडमले राजुलाई अँगालो हालिन् ।
राजुले अब अर्कै ठाउँमा स्कुलमा प्रवेश ली सकेको थियो, समय बित्दै गयो । दिन, हप्ता, महिना र महिना बाट वर्ष पुग्न कति समय लाग्छ र ? तर हरेक वर्षको अन्त्यमा, म्याडमले राजुबाट नियमित रूपमा एउटा चिठी पाउने गर्थिन् कि “यस वर्ष मैले धेरै नयाँ शिक्षक भेटेँ, तर म्याडम तपाई जस्तो कोही थिएन ।” त्यसपछि राजुको अध्ययन समाप्त भयो र पत्रहरूको प्रक्रिया पनि समाप्त भयो । धेरै वर्ष बित्यो र म्याडम पनि रिटायर हुनु भयो ।
एक दिन अचानक म्याडमलाई राजुको इमेल आयो, जसमा लेखिएको थियो: “यस महिनाको अन्त्यमा मेरो विवाह छ, र म तपाईँबिना विवाहको बारेमा सोच्न सक्दिन, र एउटा कुरा, मैले जीवनमा धेरै मानिसलाई भेटेको छु … तपाई जस्तो कोही पनि छैन …….. तपाईँको # सी.डी.ओ. राजु ।”
इमेलसँगै, विमान बाट आउने र जाने टिकट पनि पठाइएको थियो । म्याडमले आफूलाई रोक्न सकिनन् । उनी आफ्नो पतिबाट अनुमति लिएर राजुको सहर गइन् । विवाहको दिन जब उनी विवाहको ठाउँमा पुगिन्, उनी अलि ढिलो भइसकेकी थिइन् । उनलाई लाग्यो कि समारोह त समाप्त भई सक्यो होला, तर यो देखेर उनको आश्चर्यको सीमा नै रहेन कि सहरका ठुला डाक्टर, व्यापारीहरू र त्यहाँ विवाह गराई रहेका पण्डितजी सबै थकित भई सकेका थिए, यो सोचेर कि आखिर अब कसले आउन बाँकी छ ? तर राजु भने विवाहको मण्डपको सट्टा समारोहका लागी सजावट गरिएको गेटमा एकोहोरो (एकटक) हेरी रहेको थियो, कसैको पर्खाई मा थियो !
तब सबैले देखे कि एउटा वृद्ध महिला गेटबाट भित्र छिर्दा बित्तिकै राजु उनीतिर दौडेर गयो र उनको हात समात्यो जुन हातमा उनले अझै पनि उसले दिएको त्यो बाला (ब्रेसलेट) पहिरेर आएकी थिइन् । राजुले उनलाई सीधा स्टेजमा लग्यो । माइक आफ्नो हातमा लिएर भन्यो, “मित्रहरू, तपाईँहरू सबै जना जहिले पनि मेरो आमाको बारेमा सोध्नुहुन्थ्यो र मैले पनि तपाईँलाई बाचा गरेको थिएँ कि छिटै म उहाँसँग तपाईँहरूलाई भेटाउने छु । ध्यानपूर्वक हेर्नुहोस्, यिनी मेरी आमा हुन्, मेरी प्रिय आमा, संसारमा सबै भन्दा राम्री छन् मेरी आमा ।”
उपस्थित सबै व्यक्तिहरूले ताली बजाई रहेका थिए, अञ्जलि म्यामको आँखा बाट आँसुको झर्ना बगी रहेको थियो ।
प्रिय मित्रहरू,
शिक्षक र विद्यार्थीको सम्बन्धको कारणले मात्र यो सुन्दर कथालाई न हेर्नुहोला । तपाईँको वरिपरि हेर्नुहोस्, राजु जस्ता धेरै फूलहरू ओइलाई रहेका छन् जसलाई तपाईँको थोरै ध्यान, प्रेम र मायाले नयाँ जीवन दिन सक्छ ।