धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् ।
ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् ।
धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी हुन् ।
धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेशनमा भर्ना गरिएको थियो ।
हालसम्म बाग्लुङमा १ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने १ सय १८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
कोरोना संक्रमित महिलाले बच्चालाई स्तनपान गराउन सक्ने
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड– १९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले पनि स्तनपान गराउनसक्ने बताइन् ।
“कोभिड भएको महिलालाई स्तनपानमा कुनै समस्या देखिएको छैन, कुनै पनि कारणले बच्चालाई स्तनपान गरायो भने बच्चामा कोभिड– १९ सर्दैन भन्ने अनुसन्धानबाट आएको छ”, उनले भने, “त्यही भएर कोभिड भएको महिलाले पनि आफ्नो बच्चालाई आरामले गराउन सक्नेछन् ।”
उनले कोभिडसँग डराएर गर्भवती महिला नियमित स्वास्थ्य परीक्षण नगराएको भन्दै कोभिडसँग नडाई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्न आग्रह गरिन् । उनका अनुसार गर्भवती महिलाले तीन, छ, आठ र नौ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।