भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ ।
भारत सरकारले आज उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको छ ।
मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ ।
पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।
उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ ।
मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’
रामदेवले आफूले बनाएको औषधिले सतप्रतिशत कोरोना विरामी ठिक भएको र मृत्यु दर पनि शून्य रहेको भन्दै कोरोनाको औषधि बजारमा ल्याएका थिए।
हाल कोरोना महामारी विश्वभर फैलिएको छ। हालसम्म ९२ लाख ३३ हजार भन्दा बढी मानिसहरु यो रोगको चपेटामा आइसकेका छन् भने ४ लाख ५७ हजार भन्दा बढीले यही रोगको कारण ज्यान गुमाइसकेका छन् । विश्वस्वास्थ्य संगठनका अनुसार हालसम्म यो रोगको औषधि पत्ता लागेको छैन।