झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे क्वारेन्टाइनमा बसेका एक बालिका सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अर्जुनधारा नगरपालिका प्रमुख कार्यकारी अधिकृत पंकज भूर्तेलका अनुसार उनीहरू भारतको विहारबाट काँकरभिट्टा नाका भएर जेठ २७ गते आएका थिए । २ वर्षीया एक बालिकासहित एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ ।संक्रमित महिला २ वर्षीया बालिकाकी आमा हुन् ।
उनको उमेर २२ वर्षको छ । संक्रमित पुरुषको उमेर २३ वर्ष रहेको छ । उनीहरुसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरुको असार ३ गते स्वाब संकलन गरिएको थियो । झापामा शनिबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिकाका एकजना पुरुष रहेको जनाइएको छ ।
गौरीगञ्ज गाउँपालिका ५ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित पुरुष गत जेठ १९ गते भारतको हरियाणाबाट आएर खजुरगाछी माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
उनलाई उपचारका लागि मोरङको गोठगाउँ पठाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८६ पुगेको छ । निको भएर घर फर्कनेको संख्या १२६ जना पुगेको छ ।