शिक्षाविद् तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । जोशीको आज (शनिबार) दिउँसो पौने ३ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
पत्रकार कनकमणि दीक्षितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधन भएको जानकारी दिएका छन् ।
विदेशमा पढ्न जाने पहिलो महिलाका रुपमा परिचित जोशी नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिन्छिन् । उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन् ।
उनी विगतमा क्यान्सरबाट पीडित भएकी थिइन् । १७ वर्षअघि घाँटीमा क्यान्सर भएर उपचार गर्दा अनुहार बाँगिएको थियो । पछि उनलाई स्तन क्यान्सर पनि भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।