ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ ।
मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो ।
पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो ।
पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।
यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ ।
पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो ।
शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए ।
ज्यान गुमाउने एक बालकको शव बुधबार भेटिएसँगै ज्यान गुमाउनै ९ जनाको शव भेटिएको हो । ८ जनाको यसअगाडी नै सामूहिक रुपमा दाहासंस्कार गरिसकिएको छ भने ती बालकको आज दाहशंस्कार गरिने बताइएको छ ।
नोट : यसमा प्रयोग गरिएको तस्विर पर्वतमा ९ जनाको ज्यान लिने गरि गएको पहिरोको हो ।