
विश्वभर कोरोना भाइरस संक्रमितहरु साढे ८२ लाख पुगेका छन् ।
नेपाली समयअनुसार आज विहान ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५६ हजार ६ सय ५९ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४५ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ४३ लाख ०६ हजार ४ सय ६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २२ लाख ८ हजार ४ सय संक्रमित हुँदा यो रोगको कारणले ज्यान गुमाउनेहरुको संख्या १ लाख १९ हजार १ सय ३२ पुगेको छ । त्यहाँ ९ लाख ३ हजार ४१ जना उपचारपछी निको भएका छन् भने ११ लाख ८६ हजार २ सय २७ जना अझै पनि विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् जसम्धये १६ हजार ७ सय ९५ को अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
अमेरिकापछि धेरै संक्रमित भएको मुलुकमा ब्राजिल रहेको छ । त्यहाँ ९ लाख २८ हजार ८ सय ३४ जना संक्रमित फेला पर्दा ४५ हजार ४ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ६४ हजार ७ सय ७४ जना उपचारपछि निको भएर फर्केका छन् । संक्रमित र मृत्यु धेरै हुनेमा अमेरिकापछी ब्राजिल दोस्रो देश बन्न पुगेको छ ।
५ लाख ४५ हजार ४ सय ५८ जना संक्रमित भएर तेस्रो बढी संक्रमित भएको मुलुकमा रसिया छ । तर रसियामा ज्यान गुमाउनेको संख्या थोरै छ । त्यहाँ ७ हजार २ सय ८४ जनाले ज्यान गुमाएका छन् जबकी २ लाख ९८ हजार १ सय ३६ जना संक्रमित भएको बेलायतमा ४१ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तेस्रो नम्बरमा बेलायत पुगेको छ । बेलायतको अर्को रोचक कुरा के छ भने त्यहाँ अहिलेसम्म १ जना पनि निको भएर फर्केका छैनन् वा निको भएर फर्कनेहरुको तथ्यांक उपलव्ध गराइएको छैन ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ पुगेको छ भने अहिलेसम्म ११ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । भारत संक्रमितहरुको संख्याको आधारमा विश्वमै चौथो स्थानमा रहेको छ ।
नेपालमा अहिलेसम्म ६ हजार ५ सय ९१ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ५८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।